काठमाडौँ । कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेलाई कांग्रेस उपसभापति र महामन्त्री माथि छानबिन गर्न चुनौती दिएका हुन् ।
कांग्रेस नेताहरूमाथि निराधार आरोप लगाएको उल्लेख गर्दै सांसद पाण्डेले भने, ‘हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि लाञ्छना लगाउनु भएको छ । उपसभापति र महामन्त्रीको नाम किटेर छानबिनको समय पनि तोक्नुहोस् । उहाँहरू दोषी देखिनुभयो भने । कारबाही गर्नुहोस् । उनले भने, गृहमन्त्रीलाई चुनौती दिँदै सभामुख देवराज घिमिरेसँग ‘रुलिङ’ मागेका थिए । “सभामुख महोदय, गृहमन्त्रीले सदनको रोस्ट्रममा उभिएर लगाएका आरोप पुष्टि गर्नका लागि रुलिङ गर्न माग गर्दछु,” उनले भने, “पुष्टि गर्न सक्नु हुन्न भने त्यस्तो भनाइ संसद्को रेकर्डबाट हटाउन पनि माग गर्दछु ।” “सभामुख महोदय, अस्ति हामीले उहाँले बोल्न पाऊँ भनेको हुँदा उहाँलाई बोल्नका लागि सहजीकरण गर्यौँ । हामीलाई लागेको थियो, उहाँ बोल्नुहुनेछ, हामीलाई धेरै कुरा पढाउनुहुनेछ,” पाण्डेले भने, “तर, उहाँ बोल्नु भएन, बर्बराउनुभयो मात्र । उहाँले बर्बराउने क्रममा नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीका विषयमा अनर्गल आरोप लगाउनुभयो ।”
त्यससँगै सूचना बेच्नेलाई सदनबाट गलहत्त्याउन पाण्डेले माग गरे । आरोप झुटो भएमा संसद् बैठकबाट गृहमन्त्रीलाई नै गलहत्त्याउनुपर्ने उनको चेतावनी थियो ।
“सभामुखज्यूमार्फत म गृहमन्त्रीलाई भन्न चाहन्छु कि विदेशीलाई सूचना बेच्ने एजेन्टलाई सदनबाट गलहत्त्याउनुस्,” उनले भने, “होइन भने तपाईंलाई नै हामीले सदनबाट गलहत्त्याउनुपर्ने हुन्छ ।”
आइतबार संसद बैठकमा गृहमन्त्रीले कांग्रेसको नेताहरुलाई बिभिन्न आरोप लगाएका थिए । त्यसैबीच सहकारी अपचलनमा गहृमन्त्रीको छानबिको लागि संसदीय समिति नबनेसम्म संसद अबरुद्ध जारी रहने चेतावनी कांग्रेस अडान लिएकोछ ।





