काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार चुनावी सरकार मात्र नभएको बताएकी छन् ।
भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै कार्कीले अहिलेको सरकार सुशासनको माग राखी भएको ‘जेनजी’ आन्दोलनको जगमा बनेको बताइन् । सरकारले नियमित सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको उनको दाबी छ ।
‘जेनजी’का माग र अपेक्षाबमोजिमका अपेक्षाकृत उपलब्धि हासिल हुन समय लाग्ने भए पनि भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने उनको भनाइ छ । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेको उनले बताइन् ।
यस दिशामा चालिएका कदमबाट आत्तिएर कतिपयले प्रत्यक्ष वा परोक्ष रूपमा धम्की दिएको प्रधानमन्त्री कार्कीले बताइन् ।





