काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा मंगलबार दुई खेल हुदैछ ।
पहिलो खेलमा स्पोर्टिङ इलामसँग खेल्नेछ, ललितपुर सिटी एफसी । दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीको प्रतिद्धन्दी रहनेछ, पोखरा थन्डर्स ।
प्लेअफको दौडमा बलियो देखिएका पोखरा र ललितपुरलाई लिगको शीर्ष स्थानमा उक्लिने अवसर छ । कम्तिमा दुवै टिमले शीर्ष स्थानको धनगढीलाई पछि पार्न सक्छन् ।
पहिलो खेलमा ललितपुरसँग खेल्न लागेको इलाम प्लेअफको दौडबाट बाहिरिसकेको छ । लिगको अन्तिम खेल खेल्न लागेको इलाम कम्तिमा प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । ललितपुरलाई यस सिजनको उपाधिको दाबेदार टिम मानिएको छ । तर प्रतियोगितामा उसले एकै लयमा खेल्न सकेको छैन । प्रतियोगिताको अपराजित टिम ललितपुर कम्तिमा इलामसँग अंक लिन प्रयास गर्नेछ । गुमाउने डर नभएको इलामसँग खेल्दै गर्दा दबाब ललितपुरमाथि स्वभाविक रुपमा रहनेछ ।
ललितपुर १० अंक सहित तेस्रो र इलाम ५ अंक सहित तालिकाको पुछारमा छ ।
दोस्रो खेलमा बुटवलसँग खेल्न लागेको पोखरालाई लिगको शीर्ष स्थानमा उक्लिने अवसर छ । बुटवललाई निराश पारेको खण्डमा पोखरा ढुक्कसँग लिगको शीर्ष स्थानमा फर्किनेछ । तर पछिल्लो समय लयमा देखिएको बुटवललाई हराउन पोखरालाई सहज भने हुने छैन ।
प्लेअफको दौडमा कायम रहन बुटवललाई मंगलबारको खेल जित्नैपर्ने दबाब भने छ । पोखरालाई हराएको खण्डमा बुटवल शीर्ष चार भित्र अटाउनेछ । पोखरा ११ अंक सहित दोस्रो र बुटवल ७ अंक सहित छैटौं स्थानमा छ ।
