हेटौँडा, पुस ३ गते । अर्थमन्त्री डा। प्रकाश शरण महतले पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार हुँदै गएको बताउनुभएको छ ।मकवानपुर उद्योग वाणिज्य सङ्घले मङ्गलबार हेटौँडामा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री महतले सरकारले लिएको सुधारको नीतिका कारण अर्थतन्त्र पछिल्लो समय सुधारोन्मुख अवस्था रहेको बताउनुभयो ।
उहाँले उद्योगी व्यवसायीको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुहुँदै अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव विस्तारै हटेको, तर सबै हटेको अवस्था भने नरहेको बताउनुभयो ।
वित्त व्यवस्थापनमा देखिएको समस्या, मौद्रिक नीति, आन्तरिक तथा बाह्य कारणले अहिले समस्या आएको भन्दै उहाँले जग्गा र शेयरमा बढी लगानी भएका कारण अहिलेको समस्या आएको जानकारी दिनुभयो । उहाँले लगानीका नयाँ क्षेत्रको खोजी हुनुपर्ने भन्दै सरकारको मात्र प्रयासमा समस्या समाधान नहुने भएकाले निजी क्षेत्रको समेत सहयोग आवश्यक रहेको बताउनुभयो ।