८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

अधिकास कमर्सियल बैँकको नाफा खस्किदा कृषि विकास बैंकका वित्तीय सूचकहरूमा भने सुधार



काठमाडौं । पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलता असर बैंकको नाफामा देखिएको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय अवस्थाअनुसार वाणिज्य बैंकहरुको नाफा ९.९४ प्रतिशतले घटेको हो । २० वाणिज्य बैंकमध्ये १६ बैंकको नाफा घटेको छ भने ३ बैंकको मात्रै बढेको छ । अधिकासं बैंकको नाफा घट्दा कृषि विकास बैंकका अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ३५ करोड रुपैयाँ छ । गत वर्षको यस अवधिमा यस्तो नाफा १ अर्ब २८ करोड रुपैयाँ ऋणात्मक थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ७२ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । बैंकले लोनलस प्रोभिजनवापत १ अर्ब ९ करोड रुपैयाँ छुट्याएको छ ।

त्यस्तै बैंकको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा छ । गत वर्षको यस अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा ऋणात्मक थियो । बैंकको निष्क्रिय कर्जामा सुधार देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा कुल कर्जामा निष्क्रिय कर्जा ४.५२ प्रतिशत रहेकोमा अहिले ३।०२ प्रतिशतमा झरेको छ । सीडी रेसियो ८७.५४ प्रतिशतबाट ७६.४६ प्रतिशतमा झरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ४० बजे