काठमाडौं । सरकारको नेतृत्व गइरहेको नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीाकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
१५ वर्ष अघि भएको हत्याको घटनामा गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहसहित छ जनाविरूद्ध पुर्जी जारी भएको प्रहरीले जानकारी दिएको छ ।
२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो । सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा राजबहादुरको हत्या भएको थियो ।
हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो । किटानी दर्ता भएका ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।
टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरूको खोजी गरिरहेको छ ।