काठमाडौँ।अर्थमन्त्री डा प्रकाशशरण महतले बैङ्क तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको बताएका छन्।
राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले विगतमा अनुत्पादक क्षेत्रमा ठूलो लगानी हुँदा समस्या देखिएको उल्लेख गर्नुहुँदै अबका दिनमा उत्पादनमूलक र राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन्।
“हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा गएन । शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो । त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् । ब्याजदर बढ्यो तर प्रतिफल छैन”, अर्थमन्त्रीले भने, “हाम्रा आवश्कता धेरै छन् । स्रोत साधन निकै कम छ । खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ । राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।”
मन्त्री महतले अर्थतन्त्रका समस्या पहिल्याउने तर समाधान गर्न के कसरी पहल गर्न सकिन्छ भन्ने बिषयमा कर्मचारीले ध्यान नदिने भन्दै दुखेको पोखेका छन् ।
ट्रेड युनियनका नेताहरुले माग मात्रै राख्ने तर समस्या समाधानका लागि कसरी पहल गर्ने भन्नेबारे सुझाव नदिने गरेको अर्थमन्त्रीको गुनासो थियो । गत आर्थिक वर्षमा बैङ्कको नाफाबाट सरकारले पाँच दशमलव पाँच प्रतिशत लाभांश लिएको उल्लेख गदै उनले बढी सेवा सुविधा पाउनुपर्ने कर्मचारीको माग अनुचित हो भने“राज्यले बढी नाफा लिएर काम गर्नेलाई थोरै दिएको भए गुनासो गर्नु स्वभाविक हो तर लगानीको तुलनामा गतवर्ष सरकारले पाएको साढे पाँच प्रतिशतको लाभांश धेरै ठूलो रकम होइन”, अर्थमन्त्री महतले भने, “कर्मचारीको हकहितमा मेरो साथ हुन्छ । कुनैपनि अनुचित हस्तक्षेप मबाट हुँदैन । तर राज्यको लगानी भएको संस्थामा अर्थमन्त्रालयले जिम्मेवार भएर निगरानी गर्छ ।” पछिल्लो समय अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको र लगानीकर्तामा विस्तारै मनोबल उकासिँदै गएको पनि उनले बताए ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड आजबाट आफ्नो स्थापनाको ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गरेको छ । २०८० असार मसान्तसम्ममा बैङ्कको अधिकृत शेयर पुँजी रु ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैङ्कको विद्यमान पुँजी संरचनाअनुसार नेपाल सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ । बैङ्कको पुँजी कोष रु ५० अर्ब ७४ करोड रहेको छ । गत असार मसान्तसम्ममा बैङ्कको निश्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत छ ।
गत पुस मसान्तसम्ममा बैङ्कमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको रु तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ । कर्जातर्फ एक लाख ९४ हजार भन्दा बढी ग्राहकलाई रु दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैङ्कले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कले आर्थिक वर्ष २०६०र६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको छ । गत आर्थिक वर्ष २०७९र८० मा बैङ्कले रु तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो । गतवर्ष बढी खुद मुनाफा आर्जन गर्ने बैङ्कको सूचीमा राष्ट्रिय वाणिज्य बैङ्क दोस्रो स्थानमा छ । गत वर्षमा आर्जित मुनाफाबाट बैङ्कले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आज बार्षिक उत्सवको अवसखरमा लामो अवधिदेखी सेवा लिइरहेका ग्राहकहरुलाई जिल्लाको शाखाहरुमा सम्मान गरेको थियो ।