काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान जारी छ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान सुरु भएको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।
मतदान दिउँसो ३ बजेसम्म जारी रहेनेछ ।
राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् ।
निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।
मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ । साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।