८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

नबिल बैंकबाट उद्यम गर्न १० करोडसम्म कर्जा पाइने योजना सार्वजनिक



काठमाडौं । नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा ल्याएको हो।

बैंकले बिहीबार औपचारिक रूपमा शुभारम्भ गर्दै स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रूपैयाँसम्मको कर्जा सुविधा ल्याएको हो ।

बैंकले न्यूनतम १५ लाख रूपैयाँदेखि १० करोड रूपैयाँसम्मका सुविधा दिनेछ । त्यसमा बैंकले विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा तोकेको छ ।

बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रूपैयाँको कर्जा प्रदान गर्नेछ । त्यसैगरी, बैंकले लगानी थप गरी उद्योग विस्तार गर्न चाहनेलाई १५ लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्म कर्जा दिनेछ ।

त्यस्तै, सञ्चालनमा रहेका उद्योगलाई थप लगानी गरी व्यवसाय अगाडि बढाउनेलाई १ करोडदेखि ५ करोड रूपैयाँसम्म सुविधा बैंकले दिने भएको छ । उक्त कर्जा व्यापार बढाउने र नयाँ प्रविधि प्रयोग गरेर बजारमा जाने योजना रहेका नेपालीलाई प्रदान गर्नेछ ।

सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठूलो क्षमतामा अगाडि बढाउने योजना बनाएका युवाहरूलाई बैंकले १० करोड रूपैयाँसम्म कर्जा दिनेछ ।

कर्जाका लागि नागरिकतासहित कोल्याट्रलको आवश्यक पर्नेछ । बैंकले कर्जामा १।५ प्रतिशत ब्याजदर कायम गरेको छ । कर्जा प्राप्तका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैंकले जनाएको छ ।
उक्त कर्जा आयमुलक व्यवसायरउद्यम सुरू वा विस्तार गर्न प्रोत्साहन हुने बैंकको विश्वास छ । बैंकले न्यूनतम आकर्षक ब्याजदरका साथ १० वर्षसम्मका लागि कर्जा दिने भएको हो ।

बैंकले कर्जा लिन चाहनेका लागि ३(५ कार्य दिनभित्र कर्जा स्वीकृती दिने बैंकले जनाएको छ ।

बैंकका कार्यकारी प्रमुख ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक रोजगारीमा गएर नेपाल आएका नेपालीहरूलाई सहजै कसरी कर्जा प्रदान गर्न सकिन्छ भनेर विभिन्न चरणमा छलफल गरेर आर्थिक रूपमा सहयोग गरेमा अर्थतन्त्रमा टेवा पुग्ने गरी योजना ल्याएको बताए।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १० : ०७ बजे