काठमाडौँ । देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस विभिन्न सचेतना मुलकक्रम गरी मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको मध्यमबाट सर्ने महाशाखाले जनाएको छ ।
रोग लागेको सुरुको अवस्थामा रोगको उपचार गरे अरूलाई नसर्नुका साथै पूर्णरुपमा निको हुन्छ । विश्वमा प्रत्येक वर्ष दुइ लाख भन्दा बढी कुष्ठरोगका नयाँ बिरामी देखा पर्ने गरेका छन्।
नेपालमा पछिल्लो समय वार्षिकरुपमा औसतमा २२ सय जनामा यो रोग फेला पर्छ । गत वर्षको तथ्यांक अनुसार नेपालमा करिब ३ हजारको संख्यामा कुष्ठरोगीहरु वर्षेनी थपिने गरेका छन्। कुष्ठरोगको उपचार स्वास्थ्य संस्थाहरुमा निशुल्क दिने व्यवस्था नेपाल सरकारले गरेको छ।