काठमाडौं । नेपाल यू–१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ । आज बंगलादेश विरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार सम्पन्न सुपरसिक्सका खेलमा भारत र पाकिस्तानले आ–आफ्ना खेल जितेसँगै सुपर सिक्समा रहेका नेपालसहितका तीन देश सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड पनि सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । सुपर सिक्सको समुह १ मा भारत र पाकिस्तानको ६/६ अंक भएको छ भने बंगलादेशको २ अंक रहेको छ । त्यस्तै न्यूजील्याण्डको २ अंक रहेको छ भने नेपाल र आयरल्याण्डको शुन्य अंक रहेको छ ।
नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगे पनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंक विहिन बन्न पुुगेको छ । अब नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग विजयी भएपनि सेमिफाइनल पुग्न असफल हुने छ । यो सँगै नेपाल सुपरसिक्सका बाँकी २ खेल पूूरा गरी स्वदेश फर्किने छ ।