काठमाडौ । भारतका विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता भएको छ ।
विदेशमन्त्री जयशंकरले राष्ट्रपति निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेकोमा जोड दिएका थिए।
उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरेका छन्।
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका संभावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।