चितवन। अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्ने बताएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनको कार्यक्रममा शनिबार बोल्दै महत आइटी, टुरिजम, नयाँ व्यवसाय गर्नका लागि सरकारको योजना रहेको बताए ।
उनले अब उत्पादनमा सरकारको ध्यान जानेमा जोड दिए । मन्त्री महतले भने, ‘‘उत्पादन हुने उद्योग व्यवसाय गर्न लगाउने वातावरण बनाउने छौँ । यहाँ धेरै अवसर छन् । आइटी, टुरिजम, नयाँ व्यवसाय गर्नका लागि सरकारको योजना छ ।’’
अर्थमन्त्री महतले अर्थतन्त्र लयमा आउन थालेको बताए । उहाँले भने “कसैले भन्दैमा हुँदैन हाम्रा तथ्याङ्कले सुधार उन्मुख देखाएको छ । अर्थतन्त्र खतम भयो भनेर विदेश जान खोज्नेहरूले सोचे हुन्छ अब सुधार हुदैछ ।’’
‘‘अर्थतन्त्रमा सुधारको सकारात्मक प्रभाव पर्यटनको क्षेत्रमा देखिएको छ । नेपाल घुम्न आउने बाहिरका पर्यटक धेरै भित्रेको तथ्याङ्कले देखाएको छ । हल्ला र प्रचारको पछाडि नलाग्न अनुरोध गर्दछु ।,’’ अर्थमन्त्री महतले भने ।
‘‘देशमा अर्थतन्त्र समस्यामा थियो । अझै धेरै कुरा गर्न बाँकी छ । बिग्रदोबाट सुधार हुँदैछ । खतम भएको छैन ।,’’ उनले भने
अर्थतन्त्रको सुधारकै कारण शेयर मार्केटमा सुधार आएको छ ।’’
उनले माघ महिना भित्र ठेकेदारको पैसा राज्यले दिने पनि बताए । सरकार पुँजीगत खर्च वृद्धि गर्ने योजनामा रहेको जानकारी दिए ।
अर्थमन्त्री महतले वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने जानकारी दिए। उनले भने, ‘‘लगानी सम्मेलनको तयारीमा सरकार लागेको छ । नेपाली, विदेशी र एनअरएनलाई लगानी गर्न सक्ने वातावरण बनाउनेछौँ ।’’