काठमाडौं। लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
कडायतले भने, “विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।” २०७६ माघमा पहिलो पटक उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो । बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए ।
जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर भएनन् ।
सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।