काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सोमबार मनोनयन दर्ता गरेको उमेद्वार बिरुद्ध आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ ।आयोगको तालिका अनुसार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि दुई दिनको समय दिइएको छ । यसैबीच, मंगलबार दुई उमेदवारविरुद्ध उजुरी परेको आयोगले बताएको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उमेदवार बिकविरुद्ध एमालेकै उमेदवार हिक्मत बिकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका छन् ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज र भोलि जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।