३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मेलम्चीको पानी चार दिनपछि काठमाडौं आउने



काठमाडौं। बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनः काठमाडौंमा पथान्तरण गरिएको छ ।

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौंका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

उनले भने , “निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौं पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ ।” करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उनले बताए । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौं उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए । आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधबार साँझदेखि काठमाडौंका लागि पानी पठाइएको सिनियर डिभिजनल इञ्जिनियर कुँवरले बताए ।

उनका अनुसार बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र आवश्यक मेसिन परिचालन गरेको थियो । खानेपानीमन्त्री महिन्द्रराय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणासमेत गरेका थिए । मेलम्चीको पानी तत्काल काठमाडौँ ल्याउन मन्त्री यादवले तीन पटक स्थलगतरुपमा अनुगमनसमेत गरका थियो ।

बाढीका कारण रोकिएको पानी काठमाडौं ल्याउन मन्त्री यादवसहित खानेपानी सचिव सुरेश आचार्य र मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक अन्सारी सक्रियरुपमा लागेका मन्त्री यादवका स्वकीय सचिव टङ्क धमलाले जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : २४ बजे