१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

कोलम्बियामा पहिरोमा परी १८ जनाको मृत्यु



कोलम्बिया। कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

मेडेलिन र क्विब्दो सहरलाई जोड्ने सडकमा पहिरोले क्षति पुर्‍याएपछि यहाँको यातायात सेवा अबद्ध बनेको चोको क्षेत्रको स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले एएफपीलाई बताए ।

“कार्मेन डे अट्राटो नगरपालिका नजिकै ‘एउटा घरमा आश्रय लिन’ धेरै मानिसहरू आफ्नो गाडीबाट झरेका समय दुर्भाग्यवश पहिरो आएर उनीहरू पुरिएका छन्,” अधिकारीले भने । उपराष्ट्रपति फ्रान्सिया मार्केजले करिब ३० जना घाइते भएको बताए ।

कारमेन डे अट्राटोका मेयर जैमी हरेराले स्थानीय टिभी स्टेसन काराकोललाई बताएअनुसार पहिरोमा परी मानिसहरू गम्भीर घाइते भएका छन् भने अझै पनि अन्य केही पहिरोमा फसेका छन् ।

सामाजिक सञ्जाल र टेलिभिजन च्यानलमा सार्वजनिक भएका तस्बिरमा हिलो र पहिरोका कारण कारहरू ध्वस्त भएको देखिएको छ । प्रशान्त महासागरसँग सीमा जोडिएको र विशाल उष्णकटिबन्धीय वन रहेको चोको क्षेत्रमा विगत २४ घण्टामा भारी वर्षा भएको छ ।

कोलम्बिया खडेरीको अवस्थाबाट गुज्रिरहेको बेला जल, मौसम तथा वातावरण अध्ययन इन्स्टिच्युटले यसअघि प्रशान्त र अमेजनको सिमानामा रहेका विभिन्न क्षेत्रमा भारी वर्षाको जोखिमबारे चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १ : ५६ बजे