१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

राजस्वमा सरकारलाई लक्ष प्राप्ति गर्न धौ-धौ हुने संकेत, ६ महिनामै लक्ष्यभन्दा डेढ खर्बले पछाडि



काठमाडौं। सरकारले चालु आर्थिक वर्ष ६ महिनामा लक्ष्यको ७७ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।

सरकारले अर्थतन्त्रमा केहीका सुधारका संकेत देखिएको बताइरहँदा राजस्व लक्ष्यको तुलनामा २३ प्रतिशत कम उठेको हो।

सरकारले पुससम्म ६ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा त्यो भन्दा १ खर्ब ५२ अर्ब ७७ करोड रुपैयाँ कम अर्थात ५ खर्ब १५ अर्ब ४० करोड रुपैयाँ मात्र उठेको छ।

पुस महिनाको लक्ष्यमा पनि सरकार असफल भएको छ। यव महिनामा १ खर्ब ८८ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। तर त्योभन्दा झण्डै ५४ अर्ब कम अर्थात १ खर्ब ३४ अर्ब २३ करोड रुपैयाँ मात्र संकलन भएको छ।

पोहोर ६ महिनाको तुलनामा राजस्व केही बढेको छ। पोहोर ६ महिनाको तुलनामा यसपालि करिब ३३ अर्ब रुपैयाँ बढी उठेको हो। तर यसमा सरकारले खुशी मनाउनुपर्ने कारण छैन। पोहोर भन्दा यसपालि राजस्वको लक्ष्य ४० प्रतिशत बढी छ।

आन्तरिक राजस्व विभाग
पुस सबैभन्दा धेरै आयकर उठाउने महिना हो। आयकर ऐन २०५८ अनुसार अग्रिम आयकरको ४० प्रतिशत रकम करदाताले अग्रिमरुपमा जम्मा गर्ने अन्तिम दिन पुस मसान्त हो। अर्थात वार्षिक अनुमानित आम्दानीलाई आधारमा मानेर तिर्नुपर्ने करको ४० प्रतिशत अग्रिम भुक्तानी पुस महिनाभित्र गर्नुपर्छ।

आन्तरिक राजस्व विभागले पुस महिनामा १ खर्ब १० अर्ब रुपैयाँ कर उठाउने लक्ष्य पाएकामा ७१ अर्ब ५० करोड रुपैयाँ संकलन गरेको छ। त्यसमध्ये १५ अर्ब ८ करोड रुपैयाँ पुस २९ गते संकलन भएको हो। विभागले पोहोर पुसमा पनि करिब ७१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो।

विभाग पुस महिनाको मात्र होइन, ६ महिनाको लक्ष्यमै असफल भएको छ। पुससम्म ३ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ कर उठाउने लक्ष्य तोकिएको विभागले ८० प्रतिशत अर्थात २ खर्ब ४३ अर्ब ३५ करोड रुपैयाँ मात्र संकलन गरेको छ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : १६ बजे