काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् ।
स्वाथ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीररूपमा लिन भनेका छन् ।
यता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकहरूले अन्तर्वार्ता सुचारुको माग गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवाहरू बन्द गरेसँगै बिरामीहरू अलपत्र परेका छन् ।
बिपी प्रतिष्ठानमा उपचारका लागि पुगेका बिरामीहरू ओपिडीको टिकट काउन्टर नखुलेपछि बिरामीहरू अलपत्र परेका छन् भने फलोअपमा बोलाएको बिरामीहरू समेत अलपत्र परेका हुन् । बढुवा प्रक्रिया सुचारु गर्न गत कात्तिक २० गते धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलहरूको रोहवरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रक्रिया पुरा गरेर लोक सेवा आयोग र स्वास्थ्य मन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सकाउने सहमति भएको थियो । उक्त समय नाघिसक्दा समेत बढुवा प्रक्रिया सुचारु नभएपछि बिपी प्रतिष्ठान अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू बन्दको आह्वान गरी चिकित्सक, शिक्षक र कर्मचारीहरू पुनः आन्दोलनमा होमिएका छन् । जसको असर उपचारमा आएका नयाँ तथा फलोअपमा रहेको बिरामीहरू तथा अध्ययनरत विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा असर परेको छ ।
अस्पतालमा टिकटको लागि बिहानैदेखि लाइन लागेपनि ओपिडीको काउण्टर नखुलेपछि बिरामीहरू निराश भएर घर फर्किन बाध्य छन् । तथापि केही टाढाबाट आएका बिरामीहरू भने खुल्ने आसमा बसिरहेका थिए ।