१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त



काठमाडौं । नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सिफारीमा परेका तीन मध्येबाट कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।कोषको कार्यकारी निर्देशक छनोट समितिले पुर्व सहसचिव लेखनाथ शर्मा पंगेनी, नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक राजेन्द्र पण्डित र पर्वतकुमार कार्कीलाई सिफारीस गरेको थियो ।

कार्कीको कार्यकाल ४ बर्षको हुनेछ । किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।
त्यसैगरी बुधबारको मन्त्री परिषदले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा ९१० बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । साथै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय समेत मन्त्री परिषदले गरेको छ ।

त्यस्तै नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषदले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा। रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : १० बजे