८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

निजी विद्यालयले लिने शुल्कमा कडाई गर्दै इटहरी उपमहानगर



इटहरी । इटहरी उपमहानगरपालिकाले निजी विद्यालयहरुले लिँदै आएको शुल्कमा अंकुश लगाउने तयारी गरेको छ।

निजी विद्यालयहरूले चर्को शुल्क लिने गरेको गुनासो आएपछि उपमहानगरले शुल्कमा अङ्कुश लगाउने तयारी थालेको हो।

आगामी शैक्षिक सत्र २०८१ मा निजी विद्यालयहरूले विद्यार्थीसँग लिने शुल्कको प्रस्ताव माघ २९ गते भित्रमा पेस गर्न उपमहानगरले परिपत्र जारी गरेको छ।

तोकिएको समयमा प्रस्ताव पेस नगर्नेलाई नियमअनुसार कारबाही गरिने उपमहानगरले चेतावनी दिएको छ।

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद शाखाले सबै संस्थागत विद्यालयलाई परिपत्र गर्दै मासिक शुल्कसहित अन्य सबै प्रकारका शुल्कको बारेमा जानकारी गराउने भनेको छ।

निजी विद्यालयले लिने शुल्कहरू सम्बन्धित विद्यालयको दुई तिहाइ अभिभावकहरूको भेलाबाट पारित गरी पठाउनु पर्ने व्यवस्था छ।

अभिभावक भेलाबाट पारित शुल्कमा विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रमाणित प्रतिलिपि पनि पेस गर्न उपमहानगरले जारी गरेको परिपत्रमा भनिएको छ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  १० : २७ बजे