३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

छ सयभन्दा बढी सर्वसाधारणलाई ठगी गर्ने पक्राउ



काठमाडौं । युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा, क्रोशिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ६ सयभन्दा बढी सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला ललितपुर नल्लु गाविस वडा नम्बर ५ र हाल परिवर्तित कन्जोसोम गाउँपालिका ४ घर भई इमाडोल बस्दै आएका ३२ वर्षका सुजन तामाङ रहेका छन् ।

उनले कामनपा १६ स्थित बालाजु चोकमा युरो विंग्स एजुकेसन कन्सल्टेन्सी सञ्चालन गरी आफूलाई विकास वाइबाको नक्कली परिचय दिई युरोपियन मुलुक पठाइदिन्छु भनी ६ सयभन्दा बढी सर्वसाधारणसँग करोडौँ रुपियाँ ठगी गरेको प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले बताए ।

उनकाअनुसार तामाङ वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका थिए । उनकाअनुसार पक्राउ परेका तामाङले युरोपियन मुलुकमा कामदार पठाउँछु भनेर क्यानडा १८ लाख, माल्टा ८ लाख, पोल्याण्ड ७ लाख र क्रोशिया ६ लाख ५० हजार रुपियाँ ठगी गरेको खुलेको छ । ६ सयभन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि पाँच लाखसम्म रकम लिएको प्रहरीले बताएको छ ।

ठगी गरेको रकमबाट चार करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर, वसुन्धरामा ५० प्रतिशत शेयर, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, भाइको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, पाँच लाखको सुनको ब्रास्लेट खरिद गरेको पत्ता लागेको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ८ : ११ बजे