कञ्चनपुर । माटोका भाँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात दशकअघि यता आएका हुन् ।
बाजेले गर्दै आएको काम उनका बुबा चिरौँजीलालले पनि निरन्तरता दिए । त्यही काम वीरपालले सम्हाल्दै आएका छन् ।
वर्षौंदेखि यहाँ बस्दै आएका उनीसँग चार कठ्ठा चार धुर जग्गाको २०२५ मा उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र पनि छ । त्यो जग्गा निकुञ्ज विस्तारित क्षेत्रमा पर्दा उनले सट्टाभर्ना पाउन भने सकेका छैनन् । तत्कालीन पिपलाडी गाउँपालिकाको भत्तपुरीमा रहेको जग्गाको उनले सट्टाभर्ना नपाएका हुन् । “देशमा त्यसबेला सङ्कटकाल लागेको हुँदा विस्थापित हुनुपर्यो”, उनले भने, “जग्गाधनी प्रमाणपत्र भए पनि जग्गा पाउन सकिएको छैन ।”
नेपालमै उनको जन्म भयो, तीन पुस्ता बित्यो । नेपाली नागरिकताका लागि पहल गरे पनि त्यो भने पाउन नसकिएको उनले बताए । कञ्चनपुरमा उनी एक्ला माटोका भाँडा बनाउने व्यक्तिका रूपमा चिनिन्छन् । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्र भत्तपुरीबाट विस्थापनमा परेपछि वीरपालले भाडामा जग्गा लिएर माटोका भाँडा बनाउँदै आएका छन् ।
उनी विभिन्न ढाँचामा आकर्षक गमला, लोटा, करुवा, घैँटो, गोलक बनाउँछन् । कम्तीमा १५ देखि बढीमा २५० मा उनले बनाएका भाँडा किन्न पाइन्छ । यद्यपि, ती वस्तुको मूल्य बजारमा फरक छ ।
वार्षिक चार लाख कमाइ हुने उनी बताउँछन् । माटो, दाउरा, जग्गाको भाडा, कामदारको ज्यालामा दुई लाख ५० हजार जति खर्च हुने गरेको छ । बचेको रकमले घरखर्च चल्ने गरेको उनले बताए ।
व्यवसाय दर्ता गरेर उनले काम गर्दै आएका छन् । तर अन्य भारतीयले भारतबाटै भाँडा ल्याएर सस्तोमा बिक्री गर्दा उनको व्यवसाय संकटमा परेको छ ।