७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

गण्डकीमा आमसञ्चार विधेयक पारित



पोखरा। गण्डकी प्रदेश सभाको सोमबारको बैठकले दुई विधेयक पारित गरेको छ । प्रदेश सभाका विषयगत समितिबाट पारित भएका गण्डकी प्रदेशमा बिउँ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन् ।

गण्डकीमा सञ्चारसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हेर्दै आएको छ । विधेयक पास भएपछि मुख्यमन्त्री पाण्डेले नयाँ विधेयकले नागरिकको स्वतन्त्रताको हकलाई थप मजबुत बनाउने प्रतिक्रिया दिए ।

“प्रदेशमा आमसञ्चार माध्यमलाई स्वतन्त्र, मर्यादित र जिम्मेवार बनाई विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चारको हकलाई थप प्रभावकारी बनाउन टेवा पुग्ने विश्वास लिएको छु,” उनले भने ।

सदनले पास गरेको आमसञ्चार विधेयकमा प्रदेशको ११ औँ तहका कर्मचारी अर्थात् प्रदेश सचिवसरह प्रेस रजिष्ट्रारको व्यवस्था छ । रजिष्ट्रारको कार्यकाल चार वर्षे हुनेछ । ३५ वर्ष पुगी ६० ननाघेको, स्नातकोत्तर उत्तीर्ण र पत्रकारितामा कमसेकम १५ वर्ष काम गरेको व्यक्तिलाई छनोट समितिले सिफारिस गर्न सक्ने प्रावधान राखिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : ०६ बजे