काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार, कुल ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनानुसार करिब ३४ प्रतिशतले खोप लगाएका छन् ।
३१ जिल्लाबाट अझै रिपोर्ट प्राप्त नभएको उनले बताए । “रिपोर्ट पठाएका ती जिल्लाले पनि कोहीले भर्खरै अभियान सञ्चालन गरेका छन्,” उनले भने, “हिमालका ११ जिल्लामा हिउँ परेकाले भर्खर मात्रै अभियान सञ्चालन गरेका छन् ।”
उनका अनुसार, हिउँका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान सुरु गरिएको छैन । दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ देखि आउँदो चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ ।
भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति संक्रमित २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ । बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइँदै छ ।
शाखाका प्रमुख डा. गौतमले खोप सुरक्षित र प्रभावकारी रहेको जनाउँदै यसले ८५ प्रतिशतलाई दादुरा–रुबेला रोगसँग लड्ने क्षमता विकास गर्ने बताए ।