सुर्खेत । कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९र८० मा ३२ हजार केजी जडीबुटी निकासी गरिएको छ । प्रदेश वन निर्देशनालयका अनुसार, जडीबुटी निर्यातबाट दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशनालयका निर्देशक ललितकुमार कर्णले जानकारी दिए । “कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडीबुटी निर्यात भइरहेको छ,” उनले भने, “कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य जडीबुटी पाइन्छन्, यसको उचित प्रयोग अब आवश्यक छ ।”
जडीबुटीबाहेक वन क्षेत्रका काठ–दाउरा बिक्रीमार्फत पनि राजस्व आम्दानी हुने गरेको प्रदेश वन निर्देशनालयको तथ्यांक छ । कर्णालीमा पाइने जडीबुटीको उपयोग भने हुन नसकेको सरोकारवालाले बताउँदै आएका छन् ।
दक्ष जनशक्ति, पूर्वाधारको अभाव र जीर्ण बन्दै गएको औषधि बनाउने मेसिन प्रयोग गर्दै प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले सेवा दिँदै आएको छ ।
जडीबुटी बिक्री गरी आम्दानी गर्ने जिल्लामा सबैभन्दा अगाडि हुम्ला रहेको जनाइएको छ । उनले कर्णाली प्रदेशमा जडीबुटी संकलन र भण्डार केन्द्र नहुँदा समस्या भएको बताए ।
निर्देशक कर्णले भने, “यहाँ प्रशोधन गर्ने उद्योग छैन । हामीले यस्तो बहुमूल्य जडीबुटी सस्तोमा बेच्नुपर्ने बाध्यता छ । प्रशोधन उद्योग स्थापनाका लागि प्रदेश र केन्द्र सरकारले सोच्नुपर्छ ।”
कर्णाली प्रदेशबाट निर्यात हुने जडीबुटीबाट मनग्य आम्दानी लिने गरी नीति बनाउन आवश्यक रहेको उनले औँल्याए ।