काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका बन्नको लागि १९ जनाको आवेदन परेको छ ।
यसरी आवेदन दिनेमध्ये बोर्डका तीन जना कार्यकारी निर्देशक छन् । कार्यकारी निर्देशकहरू नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र कृष्णराज पोखरेलले अध्यक्षका लागि आवेदन दिएका हुन् ।
त्यस्तै बोर्डकै पूर्व कार्यकारी निर्देशक निरज गिरी, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, नेप्सेका पूर्व महाप्रबन्धक सीताराम थपलिया, पूर्व सीईओहरू कृष्णबहादुर कार्की र शंकरमान श्रेष्ठ, नेप्सेकै पूर्व कर्मचारी प्रविन पन्दाकले समेत आवेदन दिएका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठ, पूर्व कार्यकारी निर्देशक गोपाल भट्टसमेत यो दौडमा छन् ।
त्यस्तै शेयर बजारका विश्लेषकहरू विमल तिवारी, मुक्ति अर्याल, केशवप्रसाद श्रेष्ठ र रघु काफ्ले, खगेन्द्र कटुवाल, सन्तोषकुमार श्रेष्ठले समेत बोर्डको अध्यक्षमा आवेदन दिएका छन् ।
अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले फागुन १६ गते १५ दिनको समय दिएर नेपाल धितोपत्र बोर्डले अध्यक्षका लागि दरखास्त आह्वान गरेको थियो ।
आवेदन परेका व्यक्तिहरूले पेश गरेको कार्ययोजना तथा उनीहरूको योग्यता र अनुभवको आधारमा ५ जनालाई सर्टलिस्ट गरी अन्तर्वार्ताका लागि बोलाइनेछ । त्यसमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस हुनेछ ।
यसअघि माघ ५ गते सरकारले राष्ट्रिय योजना आयोगका अध्यक्ष मीनबहादुर श्रेष्ठको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो ।
उक्त समितिमा अर्थसचिव कृष्णहरि पुष्कर सदस्य र उदय निरौला विज्ञ सदस्य छन् ।