२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

पर्वतमा चार करोड लागतमा तटबन्ध निर्माण



पर्वत । पर्वतको जलजला गाउँपालिका–२ स्थित राम मन्दिर संरक्षण गर्न चार करोड ३२ लाख ७९ हजारको लागतमा तटबन्ध निर्माण गरिएको छ ।

कालीगण्डकी र रघुगंगा नदीमा अघिल्लो वर्षायाममा आएको बाढीले कटानको उच्च जोखिममा परेको राम मन्दिर संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको हो । जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको रुपताल संरक्षण एकीकृत विकास परियोजनाले माछापुच्छ्रे निर्माण सेवासँग दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी गत वर्ष माघमा चार करोड ३२ लाख ७९ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

मन्दिर संरक्षण गर्न कालीगण्डकी नदी किनारमा एक सय ३८ मिटर लामो ‘कम्पोजिट’ पर्खाल निर्माण गरिएको छ । ठेक्का सम्झौता हुने वित्तिकै निर्माण कम्पनीले काम थालेको थियो । आगामी पुस ७ गतेसम्म ठेक्काको म्याद भए पनि १० महिनाअगावै योजना सम्पन्न भएको छ ।

तीन वर्षअघि कालीगण्डकीमा आएको बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको राम मन्दिरमा क्षति भएको थियो । नदी कटानले मन्दिरको धर्मशालासहितका संरचना बाढीले बगाएको थियो । बाढीका कारण मन्दिर, पुजारी निवास र गलेश्वरबाट राम मन्दिर जोड्ने झोलुंगे पुल जोखिममा परेको थियो ।

रुपताल संरक्षण एकीकृत विकास परियोजनाका सबइन्जिनियर अशोक तिमिल्सिनाका अनुसार जमिनमुनि ५० सेन्टिमिटर चौडाइको दुईमिटर ५० सेन्टिमिटरको कटअफ निर्माण गरी तीन मिटर उचाइको चार मिटर फराकिलो पक्की कम्पोजिट पर्खाल निर्माण गरिएको छ । निर्माण भएको कम्पोजिट पर्खालमाथि आवश्यकतानुसार तीनदेखि चारमिटर उचाइसम्म ‘ग्याबिन’ जाली भरिएको छ ।

कालीगण्डकीको कटानले उच्च जोखिममा पर्वत जलजला गाउँपालिकास्थित वारीबेनी, म्याग्दीको बेनीबजार र गलेश्वर क्षेत्र आसपासका बस्तीलाई संरक्षण गर्न रुपताल संरक्षण एकीकृत विकास परियोजनाले एक वर्षअघिदेखि ४८ करोडको लागतमा विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १० : ५७ बजे