काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको सुरुङ खन्न आठ मिटर मात्र बाँकी छ । अहिले दैनिक सरदर एक मिटरका दरलेसुरुङ खन्ने काम भइरहेको छ तर कहिले छिचोलिने भन्ने तय भने भएको छैन ।
आयोजनाले फागुन २३ गते सुरुङ छिचोल्ने लक्ष्य लिएको थियो । १४ मिटर खन्न बाँकी रहेको अवस्थामा स्थानीयको अवरोधका कारण गत फागुन ६ गतेदेखि काम रोकिएको थियो । यही चैत ६ गतेदेखि पुनः सुरु खन्ने काम सुरु भएको हो ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका इन्जिनियर रमेश कोइरालाले अहिले दैनिक करिब एक मिटर जति सुरुङ खन्ने काम भइरहेको र कुनै बाधा अवरोध नभए केही दिनभित्रै सुरुङ खन्ने काम सम्पन्न हुन सक्ने बताए । इन्जिनियर कोइरालाले सुरुङ खन्ने काम तीव्र गतिमा भइरहे पनि सुरुङ छिचोल्न केही दिन ढिला हुन सक्ने बताइएको छ ।
उनका अनुसार निर्माण कम्पनी हाजामा आन्डो कर्पोरेसनका आयोजना प्रमुख केनइची इनोई अहिले जापानमा रहेकाले उनी नेपाल फर्केपछि मात्र सुरुङ छिचोल्ने कार्यक्रम तय गरिने छ ।