सहकारी प्रकरणका कारण विवादमा परेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सार्वजनिक कार्यक्रममा समेत आफ्नो बचाउ गर्नु पर्ने अवस्थामा पुगेका छन् । सहकारी प्रकरण र जीबी राई पक्राउ नपरेको विषयमा विवादित बनेका उनले इलाममा आयोजित कार्यक्रममा समेत यसैलाई निरन्तरता दिए ।
शनिबार इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले आफू कसैलाई बचाउने वा फसाउने काममा नभई जनताको पक्षमा काम गर्न लागिपरेको बताएका हुन् । गृहमन्त्री लामिछानेले तस्करी नियन्त्रणमा निर्मम भएर लागिपरेको बताए ।
फरक प्रसंगमा गृहमन्त्री लामिछानेले उपनिर्वाचनमा इलामले आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्ने अपेक्षा राखेको बताए । ‘सबै काम गर्न नसके पनि धेरै गर्न सकिन्छ । यतिधेरै समस्या, माग देख्दा विगतमा केही हुन सकेन भन्ने लाग्छ । समस्याका चाङ छन्, यसलाई घटाउने जिम्मेवारी हाम्रै हो,’ उनले भने ।
गृहमन्त्री लामिछानेले साझा एजेन्डामा सबै मिलेर अघि बढ्नुपर्ने बताए । ‘हामी देशका लागि काम गर्न सरकारमा गएका हौँ । आजै मात्र मन्त्री छौँ है भन्ने सोचेर काम गरिएका छौँ,’ उनले भने ।