५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

एक दशकसम्म पनि भएन पुल निर्माण



बुलिङटार । पूर्वी नवलपरासीको बुलिङटार र तनहुँको ऋसिङ गाउँपालिकाको गडगडीघाटको कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको निर्माण सुरु भएको १० वर्ष बित्न लाग्दासम्म तीन पिल्लर मात्र बनाएर ठेकेदार फरार भएपछि स्थानीय चिन्तित भएका छन् ।

कालीगण्डकी कोरिडोर हुँदै बुलिङटारको कोखेबाट तनहुँको ऋसिङको मधुवन हुँदै रूपटार भएर भिमाद पुग्न पक्की पुलको निर्माण सुरु गरिएको १० वर्ष बित्न लाग्दा पनि काम हुन सकेको छैन । बुलिङटार गाउँपालिकाका पूर्वकार्यपालिका सदस्य गौतम दरैले चार वर्षमा सक्ने गरी अघि बढेको उक्त पुल अहिले अलपत्र अवस्थामा पुगेपछि स्थानीयले सङ्घीय सरकार, प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताए ।

कालीगण्डकीमा सङ्घीय सरकारको बजेटबाट यहाँ पक्की पुलको निर्माण सुरु भएको १० वर्ष बित्न लाग्दा अहिलेसम्म पुलको तीन वटा खम्बा मात्र बनेका छन् । त्योभन्दा बढी कामै हुन नसकेको स्थानीय बुलिङटार–४ का पूर्ववडाध्यक्ष चेतबहादुर गोदामीमगरले बताए । छ महिनाअघि ठेकेदार देखा परेको तर फेरि गायब भएकाले पुल कहिलेसम्म अलपत्र पर्ने हो ठेगान नभएको उहाँले बताए । बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले कालीगण्डकी नदीमा बन्न लागेको पक्की पुलको ठेक्का पाएको कम्पनी नागार्जुन कन्स्ट्रक्सनले चार वर्षमा सक्ने गरी ठेक्का लिएको र अहिलेसम्म २० प्रतिशत पनि काम हुन नसकेको बताए ।

तनहुँस्थित ऋसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले यो पुल निर्माण अलपत्र परेपछि यसको ठेक्का लिएको ठेकेदारको बारम्बर खोजी गरिरहे पनि पत्ता लगाउन नसकिएको र स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराइएको बताए ।

छ महिनाअघि सम्पर्कमा आएको ठेकेदारले काम सुरु गरेको भए पनि फेरि बिचमै काम छाडेर हिँडेपछि अहिले पुल अलपत्र अवस्थामा पुगेपछि स्थानीय प्रशासनले समेत चासो दिन थालेको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ११ : ३२ बजे