७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

महानगरको न्यायिक समितिले सात वर्षमा किनारा लगायो २८१ उजुरी



पर्सा। वीरगञ्ज महानगरपालिका अन्तर्गतको न्यायिक समितिले पछिल्लो सात वर्षमा २८१ वटा उजुरी किनारा लगाएको छ ।

महानगरपालिकाका उपप्रमुखको संयोजकत्वमा गठित समितिमा आर्थिक वर्ष २०७४र०७५ देखि हालसम्म दर्ता भएका ३५३ उजुरीमध्ये २८१ वटा किनारा लगाएको हो । उपप्रमुख इम्तियाज आलम संयोजकत्वको टोलीले चालु आव २०८०र०८१ को आठ महिनामा चारवटा उजुरी फछर्यौट गरेको न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापाले जानकारी दिए ।

न्यायिक समितिमा चालु आवमा दर्ता भएको २३ वटा र अघिल्लो आव २०७९र०८० बाट सरेर आएको ४९ वटा गरी ७२ वटा उजुरी फछर्यौट हुन बाँकी रहेको अधिवक्ता थापाले बताए । उनका अनुसार न्यायिक समितिले आव २०७४र०७५ मा १२६ वटा, आव २०७५र०७६ मा ७७ वटा, आव २०७६र०७७ मा ५४ वटा, आव २०७७र०७८ मा आठवटा, आव २०७८र०७९ मा चारवटा र आव २०७९र०८० मा चारवटा उजुरी किनारा लगाएको छ ।

महानगरपालिकामा गत आव २०७४र०७५ देखि नै न्यायिक समिति गठन भएर कार्य गर्दै आएको छ । न्यायिक समितिमा आउने उजुरीमध्ये करिब ८० प्रतिशत उजुरी जग्गा विवादसम्बन्धी नै रहेको उनको भनाइ छ । न्यायिक समितिमा धेरैजसो उजुरी जग्गा विवाद, घर निर्माण खिचौला, लेनदेन, बालीनाली नोक्सानी, घरभाडा सम्बन्धमा आउने गरेको अधिवक्ता थापाको भनाइ छ ।

स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ । उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई सम्बन्धबिच्छेद, जग्गा विवाद, घरभाडासम्बन्धी, गाईभैँसीले बालीनाली नोक्सानी गरेको लगायतका विवाद मेलमिलापमार्फत समाधान गर्ने जिम्मेवारी दिइएको छ ।

महानगरपालिकाको न्यायिक समितिले आफ्नो अधिकार क्षेत्रका मुद्दा मामिलालाई मेलमिलापको सिद्धान्तमा निर्णय गर्दा प्रभावकारी बनेको स्थानीयले बताएको छ । न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको अधिवक्ता थापाले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  २ : २७ बजे