४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै, मत लिनुअघि सहमति कार्यान्वयनमा दबाब



दाङ। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाएका छन् ।

लुम्बिनी प्रदेशसभामा रहेका ८७ जना सदस्यमध्ये महरालाई ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते शुक्रवार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त हुनुभएका महराले चैत २५ गते शपथ ग्रहण र पदभार ग्रहण गरेका थिए ।

महरालाई गठबन्धन दल एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४जना, जसपाका ३ जना, नेकपा एस १ र स्वतन्त्र सांसद खड्का बस्नेत गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थन छ । त्यसै गरी विपक्षीमा नेपाली काँग्रेसका २७ जना, राप्रपा र लोसपाका ३÷३ जना प्रदेशसभा सदस्य रहनुभएको छ । राप्रपामा ४ जना मध्ये १ जना निलम्बनमा परेपछि ३ जना संसद् रहेको छन् ।

मुख्यमन्त्री महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र जिम्मेवारी प्रदान गर्ने तयारी छ । यता महराले विश्वास मत लिनु अगाडि एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले मन्त्री बनाउने सहमति कार्यान्वयन गर्न दबाब दिएका छन् ।

सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने अर्थात एउटा मन्त्रालय दिने सहमति भएको थियो । तर, मुख्यमन्त्रीले सहमति कार्यान्वयन नहुँदै विश्वासको मत लिन थालेको भन्दै एकीकृत समाजवादीले सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिन नसकिने अडान राखेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १२ : २४ बजे