१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

प्रधानमन्त्रीको दाबी : आगामी बजेट नयाँ ढङ्गबाट आउँछ



सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)सुनकोसी गाउँ समितिद्वारा आज मुलकोटमा आयोजित कार्यकर्ता भेटमा पार्टी अध्यक्ष समेत रहनुभएका प्रचण्डले आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताए । “म प्रधानमन्त्री भएपछि ठुलो मेहनतले अर्थतन्त्रमा सुधार भएको छ” उनले भने ।

राष्ट्रिय आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने नीति लिइने बताए ।
सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डको सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको दाबी गरे । वर्तमान सरकारले ललिता निवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटर ब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठुलो मेहनत गरेको भनाइ छ ।

माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकथरी व्यक्तिलाई मन नपरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले जनपक्षीय कामलाई सरकारले निरन्तर अघि बढाउने स्पष्ट पारे। वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गबाट अघि बढाएको उल्लेख गर्दै उनले पछिल्ला समयमा भएका उच्चस्तरीय भ्रमणको आदान प्रदानबाट कूटनीतिक सम्बन्ध प्रगाढ बन्दै गएको बताए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : ५२ बजे