काठमाडौँ । नेपाली कांग्रसको संसदीय दलको बैठकमा गिरिबन्धु टि स्टेटको बिषयले प्रवेश पाएको छ । आज सिंहदरबारमा सरकारलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने वा नदिने भन्ने बारे निर्णय गर्न बसेको संसदीय दलको बैठक बैठकमा गिरिबन्धु टि स्टेटको बिषय समेत उठान गरिएको छ । बैठक पछि दलको निर्णय सुनाउदै प्रमुख सचेतक रमेश लेखकले भने, “यसै साता सर्बोच्चले गिरिबन्धु टि स्टेट जे फैसला गरेको छ, यो हाम्रो दलको बैठकमा प्रवेश पाएको छ । हामी यसको अध्ययन गरी आगामी बैठकमा गम्भिर तरिकाले कुरा उठाउछौँ । ” त्यस्तै आजको बैठकले सरकारको नीति तथा कार्यक्रममा अवरोध नगर्ने निर्णय गर्दै त्यसपछि बस्ने कुनै पनि बैठक सहज ढंगले सञ्चालन नहुने निर्णय गरेको छ । “बचतकर्ताको रकम रक्षा गर्ने र फिर्ता गर्न , संलग्नलाई कडा कारबाही गर्न हामीले माग गरेका छौँ,” उनले भने, “यो दुरूपयोगमा गृहमन्त्री रवि लामिछाने संलग्न छन् । समिति बनाएर छानबिन गर्नुपर्ने हाम्रो माग छ । सरकार गम्भीर भएन, पीडामा सरकार गम्भीर भएन । यत्रो रकम ठगी हुँदा सरकार चुप लाग्दा विरोध गरेका छौं । समिति गठन माग गरेका छौं ।” सदन बैठक नचलेर उत्पन्न हुने परिणामप्रति सरकार जवाफदेही हुनुपर्ने उनको भनाइ छ ।
तर, राष्ट्रपतिको गरिमा र मर्यादालाई ख्याद गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम भने सदनमा प्रस्तुत हुन दिने निर्णय गरेको छ । यसपछि सदन अवरुद्ध गर्ने उनले जानकारी दिए । “ राष्ट्रपतिको गरिमा मर्यादा र यो व्यवस्था हेरेर आज राष्ट्रपतिले सम्बोधन गर्ने संयुक्त बैठकमा भाग लिन्छौं, अवरोध हुँदैन । त्यसपश्चात् कुनै पनि बैठकमा कांग्रेस सहभागी हुँदैन । अब सरकारका कुनै पनि कार्यसूचीमा प्रवेश हुँदैनौँ,” प्रमुख सचेतक लेखेकले भने ।
सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबीसहित कांग्रेसले छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ ।





