२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मत माग्दै प्रधानमन्त्री भने – कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् । विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताएका हुन् ।

विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले भने, कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ

अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो, प्रधानमन्त्री दाहालले भने, राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो । तर भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ ।

सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । सुरूदेखिको निरन्तर सहयात्राका लागि जसपा नेपालप्रति आभारी छु । सरकारलाई समर्थन वा विरोधको उसको राजनीतिक अधिकारको पनि म सम्मान गर्छु । तर राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि मिलेर अगाडि बढ्न आग्रह गर्छु, उनले भने ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गरिसकेको र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसद्को साथ र सहयोगबिना पूरा हुन नसक्ने प्रधानमन्त्री दाहालको भनाइ छ । सार्वभौम संसदको लामो समय लिन चाहन्नँ । यत्ति भन्छु, प्रधानमन्त्रीका रूपमा मैले संसद्को पहिलो सम्बोधनमै प्रतिवद्धता जनाएको थिएँ, प्रधानमन्त्री दाहालले भने, म आज सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा यो सम्मानित संसदको विश्वासको मत माग्दछु ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  २ : ०१ बजे