४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

भौतिक पूर्वाधार मन्त्रीलाई बालेनको चेतावनी, सडक विभाग बाहिर महानगरले थुपारिदियो धुलो



काठमाडौं । काठमाडौं महानगरपालिकाले मीनभवनस्थित सडक डिभिजन कार्यालयबाहिर एक ट्रक धुलो खन्याएको छ । कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारका नाममा जनताले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको भन्दै महानगरले सांकेतिक विरोधस्वरुप सडक डिभिजन कार्यालयबाहिर एक ट्रक धुलो खन्याएको हो ।

विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारका नाममा धेरै धुलो र कष्ट व्यहोर्नुपरेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सरकारको गल्ती–कमजोरीले काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको उनको भनाइ छ ।
उनले लेखेका छन्, “माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ,
तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।
यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला ।”

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ७ : ५० बजे