काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेले सदनमा लगाएको आरोपबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिसाबकिताब गर्ने बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै उनले सूचना बेच्ने व्यक्ति सदनमा छ भनेको विषयमा हिसाबकिताब माग्ने बताए ।
“गृहमन्त्री बरालिनुभयो भनेर हामी बरालिनुहुन्न । हिसाबकिताब त लिनैपर्छ । गृहमन्त्रीसँग लिएर भएन । हिसाबकिताब त अब प्रधानमन्त्रीसँग लिने हो । व्यक्तिगत कुरा होइन,” थापाले भने ।
उनले गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई लगाएको आरोप प्रधानमन्त्रीले सदनको रेकर्डबाट नहटाइए प्रधानमन्त्रीसँग हिसाबकिताब लिइने बताए ।
“सम्माननीय प्रधानमन्त्रीलाई भन्दैछौँ, प्रधानमन्त्री आउनुस् र भन्नुस्, यसलाई रेकर्डबाट हटाउँछु भनेर । होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब सदनमा लिइन्छ,” थापाले भने ।
गृहमन्त्रीले यस संसद बैठकमा बोल्दै गगन थापााथि सूचना बेचेको आरोप लगाएका थिए भने अन्य कांग्रेस नेताहरुलाई बिभिन्न आरोप लगाएका थिए । लगत्तै थापाले पत्रकार सम्मेलन गरी त्यसको प्रमाण देखाउन चुनौती दिएका थिए । थापाले भनेका थिए, ‘गृहमन्त्रीले तेरो फाइल खोलिदिउँ, तेरो अनुसन्धान गरिदिउँ, भन्दै चर्किने होइन । धमाधम फाइल खोल्ने, अनुसन्धान गर्ने र दोषी भए कारबाही गर्ने हो ।’





