२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

चितवनमा हावाहुरीले करिब १२ करोड रुपैयाँ बढीको केराखेती नष्ट



चितवन । हावाहुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण २ हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको जानकारी दिए ।

पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकालगायतका क्षेत्रमा लगाइएको ४० लाख ८७ हजार पाँच सय केराका बोटमा क्षति पुगेको छ । पसाएर फल लाग्ने समयका केरामा क्षति पुगेको हो ।

करिव ३ मिनेटको हावाहुरीले आफ्नो १५ कठ्ठामा लगाएको केरा सवै नष्ट भएको कालिका नगरपालिका(६ का किसान शिवप्रसाद शर्माले जानकारी दिए । केरा उत्पादक सङ्घका महासचिव जनक पन्तका अनुसार हुरीका कारण १२ करोड बराबरको केरा नष्ट भएको प्रारम्भिक अनुमान छ ।

सत्तरी जना व्यावसायिक किसानले लगाएको केराखेती पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए । नब्बे प्रतिशत किसानले केराको बीमा गरेको र १० प्रतिशत किसानले बीमा नगरेको उनले जानकारी दिए ।

जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । महासचिव पन्तका अनुसार चितवनमा सात सय भन्दा बढी किसान केराखेतीमा संलग्‍न छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १० : ३१ बजे