४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फिर्ता



काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै नेपाल फकिएका हुन् ।
राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदुत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाई गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ । यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । सो अवसरमा दुईदेश बीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरे । अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गरेका थिए।
उहाँले सोमबार तत्कालिन पूर्वी र पश्चिम जर्मनी बीचको भत्किएको पर्खालसहितका ऐतिहासिक स्थलको अवलोकन गर्नुभयो । यसैगरी उनको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आइतबार यहाँ एक विशेष स्वागत समारोह आयोजना गरेको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुरयाउन सबै नेपालीलाई आव्हान गर्नुभयो । सो अवसरमा जर्मनमा रहेको गैर आवासीय नेपाली संघका तर्फबाट राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो
यसअघि स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाट्न सत्रलाई जेठ ३१ ग्ते राष्ट्रपति पौडेलले मूख्य वक्ताका रुपमा सम्बोधन गरेका थिए।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ११ : ४० बजे