५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

‘परिपक्व पत्रकारिताका लागि सम्पादकीय स्वतन्त्रता आवश्यक’



काठमाडौ। प्रेस काउन्सिल नेपालले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता प्रदान गरिनुपर्ने आवश्यकता औँल्याएको छ । काउन्सिलद्वारा आयोजित ‘समाचार सम्पादनमा पत्रकार आचारसंहिताको सवाल’ विषयक अन्तरक्रियामा पत्रकारिताको महत्त्व र आकर्षण कायम राख्न सूचना तथा समाचार छुट्याएर सम्प्रेषण गर्न सक्नुपर्नेमा जोड दिइयो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मर्यादित र विश्वसनीय पत्रकारिताका लागि प्रत्येक सञ्चार गृहले आ-आफ्नो आचारसंहिता लागू गर्नसक्ने बताए । उन्ले भन्े, “समाचार कक्षमा सम्पादकीय स्वतन्त्रता हुनुपर्छ । बजारमा सूचनाको बाढी छ तर ती सबै सूचना समाचार होइनन् । यसमा ध्यान दिन पत्रपत्रिकालगायत परम्परागत सञ्चारमाध्यमलाई जोगाई राख्न प्रविधिमैत्री बनाउनुपर्छ ।”

शेयर बजार र आर्थिक गतिविधिसँग जोडिएका विषयलाई विशेषरुपमा अध्ययन गर्ने बताउँदै उनले पत्रकारिता क्षेत्रलाई सशक्त बनाउन काउन्सिल क्रियाशील रहेको जानकारी दिए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाचार कक्षमा आउने सूचनालाई गुणस्तरीय बनाउन समाचारमा सम्पादकीय सीप झल्कनुपर्ने सुझाव दिए । उनले समाचार सामग्रीलाई सम्प्रेषणयोग्य बनाउनाका साथै सम्पादकले तत्काल सामाग्री जुटाउने, योजना बनाउने, सहयोग र समन्वय गर्ने क्षमता तथा सक्रियमा पनि ध्यान दिनुपर्ने बताए ।

“हामीले दिएका तथ्य र सूचना गलत भएमा न्याय पनि मर्नसक्ने भएकाले स्रोत उल्लेख र पुस्ट्याइँलाई पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । यसमा सम्पादक र सञ्चारमाध्यम गम्भीर बन्नुपर्छ”, अध्यक्ष पोखरेलले भने । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले आचारसंहिता पालनामा र पत्रकारको क्षमता अभिवृद्धि गर्न-गराउन मिडियालाई सुझाव दिए ।

सही सूचना प्रवाह गर्ने समाचार कक्षमा कार्यरत व्यक्तिको भूमिका पर्दा पछाडिका खेलाडी जस्तै हुने भन्दै उनीहरूले रहने सम्पादकको समयसापेक्ष क्षमता विकासमा सञ्चारमाध्यम र सरोकार भएका निकायले ध्यान दिनुपर्ने बताए । रासस

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ५१ बजे