काठमाडौँ । कृषि विकास बैंकले नागार्जुनमा रहेको राधाकृष्ण मन्दिरलाई फर्निचर सामाग्री हस्तान्तरण गरेको छ ।
बैंकले काठमाण्डौंको नागार्जुनमा रहेको उक्त मन्दिरलाई एक लाख बराबरको दराज, कुर्चि, टेवल लगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको हो ।
बैंकले सो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो , “बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सो सामाग्री मन्दिरलाई हस्तान्तरण गरेको हो । यस अघि पनि बैंकले सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ, धार्मिक संस्थालाई गरेको यो सहयोग पनि यसैको निरन्तरता हो ।”
फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष श्री नरहरी घिमिरेले गर्नुभएको थियो भने प्रमुख अथितिको रुपमा कृषि विकास बैंक लि.का उप–महाप्रबन्धक डा. बाबुकाजी थापा रहनु भएको थियो । प्रमुख अथिति डा.थापाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको यो सहयोग समाज र बैंकलाई जोड्ने पुल भएको र यसले विविध अनेकतालाई एकताको प्रतिक रुपमा स्थापित गर्ने र मन्दिर परिसरमा उपस्थित हुने बृद्ध आमा बुबा लगायत भक्तालुजनहरुलाई सहायता पुग्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा अध्यक्ष श्री नरहरी घिमिरेले कृषि विकास बैंकको सहयोगको सराहना गर्दै खुशीका साथ बैंकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोग अपेक्षा व्यक्त गर्नु भयो । कार्यक्रममा कृषि विकास बैंकको तर्फबाट वरिष्ठ शाखा प्रमुखद्धय श्री ध्रुव पौडेल र श्री प्रकाश अर्याल, शाखा प्रमुख श्री दिपक थापा, मन्दिर संरक्षण समितिका पदाधिकारीहरु लगायत श्रदालु भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
बैंकले यस अघि पनि बिभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ ।