३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त, महिला सञ्चालकमा ज्ञवाली



काठमाडौँ । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र बिभिन्न संघ संस्थामा संलग्न छन् ।
त्यसैगरी समितिले बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई २०८१ भदौ १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका रेग्मीले २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।
ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : १२ बजे