२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

प्रस्तावित निर्वाचन आयुक्त प्रधानलाई अनुमोदन नगरी ‘नालायक’ घोषणा गर्न राप्रपा सांसद कार्कीको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई अनुमोदन नगर्न संसदीय सुनुवाइ विशेष समितिलाई आग्रह गरेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले प्रधानलाई अनुमोदन नगर्न समितिलाई आग्रह गरेकी हुन् ।

उनले प्रधानलाई ‘नालायक’को संज्ञा दिइन् । उनले संसदीय समितिमा प्रधानमाथि यौन शोषणको उजुरी परेकाले प्रधानलाई नियुक्त गरिएको खण्डमा ५१ प्रतिशत महिला र संविधानको धारा २४५ को उपधारा ६ को पनि अपमान हुने बताइन् ।

उनले भनिन्, ‘प्रधानमाथि यौन शोषणको आरोप छ । मिलापत्र पछि प्रधानले पटक(पटक गरी महिलालाई एक करोड तिरेको रसिद पनि छ । यस्तो व्यत्तिलाई यदि आयुक्तमा नियुक्त गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ।’

उनले संसदीय समितिलाई प्रधानलाई अनुपयुक्त र नालायक ठहर गर्न आग्रह गरेकी छन् । प्रधानकाबारेमा निर्णय गर्न आज बिहान बोलाइएको समितिको बैठक बेलुका पाँच बजेका लागि सारिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : ५१ बजे