बागलुङ । मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका १० आरुपाटामा गएको पहिरोमा परेर घाइते भएकाहरुको उद्धारका लागि करिब २१ घण्टापछि हेलिकोप्टर घटनास्थल नजिक अवतरण गरिएको छ । मङ्गलबार बिहान पहिरोमा परेर वडा नम्बर १० मा ६ र ९ मा दुईजनाको मृत्यु भएको थियो ।
दुईजना चिकित्सक र केही प्रहरीसहित नेपाली सेनाको हेलिकोप्टर बडिगाडतर्फ गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
मङ्गलबार खराब मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्किएको थियो । पहिरोका कारण सडक अवरुद्ध हुँदा घाइतेहरुलाई अस्पतालसम्म लैजान कठिन भएको थियो ।
बुधबार बिहान हेलिकोप्टर ९ नम्बर वडाको जनता आधारभूत विद्यालय नजिक अवतरण भएको वडाध्यक्ष विरेन्द्रकुमार बुढामगरले जानकारी दिए ।
उनले भने, ‘‘हेलीकप्टर ९ नम्बर वडामा अवतरण भएको छ । हेलिकोप्टरबाट गम्भीर घाइतेहरुलाई काठमाडौँ लैजाने तयारी छ ।’’
स्थानीयवासीहरुले उपचारका लागि घाइतेहरुलाई बुर्तिबाङस्थित अस्पतालमा पु¥याइसकेको उनले जानकारी दिए । पहिरोमा परेर बेपत्ता भएका चारजनाको खोजी कार्य विहानैदेखि थालिएको वडाध्यक्ष बुढामगरले बताउनुभयो । १० जना घाइते भएकामा केहीलाई उद्धार गरेर उपचारका लागि बुर्तिबाङ पठाइएको छ ।
पहिरोमा परेर गम्भिर घाइते हुनुभएका आरुपाटाका ७८ वर्षीय जोगबहादुर बुढाको समयमै उपचार नपाउँदा मङ्गलबार साँझ मृत्यु भएको वडाध्यक्ष बुढामगरले जानकारी दिए । पहिरोमा परेर बेपत्ता भएकाहरुको प्रहरी र स्थानीयवासीहरुले बिहानैदेखि खोजी कार्य थालेका छन् ।
सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण मङ्गलबार बिहान ११ः३० बजेको समयमा मृतक जोगबहादुरको घरमाथिको पाखोबाट खसेको पहिरोले घर र गोठ पुरिएको थियो । पहिरोका कारण करिब ५० घरधुरी विस्थापित भएको वडाध्यक्ष बुढामगरले जानकारी दिए । उनले भने, ‘‘पहिरोका कारण वडामा करिब ५० घरधुरी विस्थापित भएका छन् । विस्थापितहरुलाई बस्ने, खाने र पानीको समेत अभाव भएको छ ।’’