७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने



काठमाडौँ । नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप एक सय २५ दशमलव ८९ मेगावाट र विहारलाई एक सय २५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो ।

दश जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् विहारलाई र दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप एक सय २५ दशमलव ८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीलाई बिक्री गरिनेछ । प्राधिकरणले हरियाणा राज्यलाई हाल एक सय नौ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।

नेपालमा खपत गरी अतिरिक्त भएको बर्खायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विहार र हरियाणालाई बिक्री गरिनेछ । योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीलाई बिक्री गरिने विद्युत्को परिमाण तीन सय ६० मेगावाट पुगेको छ ।

आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा ९५ दशमलव ४५ भारु० रहेको छ । गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिइएको एक सय नौ मेगावाटको प्रतियुनिट दर आठ रुपैयाँ ४० पैसा ९५ दशमलव २५ भारु० छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क भने प्राधिकरणले व्यहोर्नुपर्ने छैन ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको बर्खायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । भारतको इनर्जी एक्सचेञ्ज ९आइएक्स०को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ । भारतबाट स्वीकृति पाएसँगै अब विहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ । प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री हुनेछ ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  १ : २३ बजे