७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

अधिकांस वाणिज्य बैंकले घटाए ब्याजदर, कृषि बिकास बैंकको ब्याजदर बढ्यो



काठमाडौं । पछिल्ला दिनमा तरलता सहज हुँदै गएकाले बैंकहरूले ब्याजदर घटाउँदै गएका छन् । वाणिज्य बैंकहरूले असोज महिनाका निम्ति ब्याजदर घटाएका हुन् । अधिकांस बैकको ब्याजदर घट्दा कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंकको भने बढेको छ । २० मध्ये नौ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका, आठले ब्याजदर स्थिर राखेका हुन् ।

कृषि विकास बैंकले ०.००७२ प्रतिशत विन्दुुले ब्याजदर वृद्धि गरेको छ । हिमालयन बैंकले एक प्रतिशत विन्दुले ब्याजदर वृद्धि गरेको छ । नेपाल एसबिआई बैंकले ०.७५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

सर्वाधिक ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य बैंक छ । यो बैंकले भदौमा मुद्दती निक्षेपमा दिँदै आएको ब्याजदर १.०७ प्रतिशत विन्दुले घटाएको छ ।

असोजमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया बैंकले दिने भएको छ । यो बैंकले मुद्दती निक्षेपकर्तालाई ७.१८ प्रतिशत ब्याज दिने भएको छ । अन्य बैंकले भने ७ प्रतिशतभन्दा तल ब्याज दिने भएका हुन् ।

असोजमा एनआईसी एशिया बैंकले अरू बैंकभन्दा बढी ब्याज दिने भएपछि भदौको तुलनामा यो बैंकको ब्याजदर सस्तो हो । भदौमा यो बैंकको मुद्दती निक्षेपमा अधिकतम ब्याज ७.४१ प्रतिशत थियो ।

माछापुच्छ्रे, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु र नेपाल बैंकले ब्याजदर स्थिर राखेका छन् ।

पछिल्ला दिनमा तरलता सहज हुँदै गएकाले बैंकहरूले ब्याजदर घटाउँदै गएका छन् ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  १ : ५७ बजे