९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

शरद ऋतुमा हिमाल आरोहणका लागि १३२ जनाले लिए अनुमति



काठमाडौँ । वर्षको शरद ऋतुमा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम अनुमति लिन थालेका छन्।

पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी १३२ जनाले आरोहण अनुमति लिइसकेका छन्।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका १२० जनाले अनुमति लिएका छन्।

तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन्।

किलर माउन्टेनका रूपमा परिचित ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ।

यसपटक पनि सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिइएको छ।

शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यही समयमा आरोहण गर्न उल्लेख्य संख्यामा आरोही आउने गरेका छन्।

मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौं अग्लो हिमाल हो। सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए।

त्यसको दुई दिनपछि अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ। सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए।

यस्तै, पुथा हिउँचुली आरोहणका लागि एक आरोही समूहका सात र अन्नपूर्ण चौथोका लागि एक आरोही समूहका पाँच जनाले अनुमति लिएको विभागले उल्लेख गरेको छ।

यस सिजनका लागि हिमाल आरोहणबापत एक करोड ३० लाख ९६ हजार २६४ रोयल्टी सरकारी खातामा जम्मा भएको जनाइएको छ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ११ : ४० बजे