१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

कृषि विकास बैङ्कद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग



काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख आर्थिक सहयोग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई कृषि बिकास बैंकले उक्त रकम हस्तान्तरण गरेको हो । चेक कृषि विकास बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्री रामशरण पुडासैनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको छ । राष्ट्रिय विपदको दुःखद घडीमा खोज, उद्धार र राहतका लागि बाढीबाट पीडित एवं प्रभावित परिवारका लागि सहायता स्वरुप कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको बैंकले जनाएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य एव नेपाल सरकार अर्थ मन्त्रालयका सह–सचिव दीर्घराज मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख सरीता दाहाल र वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल एवं प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्यहरुको समेत उपस्थिती रहेको थियो । राष्ट्रलाई परेको संकटको समयमा सहयोग गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै प्रधानमन्त्री ओलीले टोलीलाई धन्यवाद दिएका थिए। कृषि विकास बैंक लिमिटेडले यस अघि पनि बिपतको घडिमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : ४१ बजे