७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

एमालेले सचिवालय बैठक बोलायो



ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय तह उपनिर्वाचन केन्द्रित निर्णय गर्न सचिवालय बैठक बोलाएको छ । स्थानीय तह उपनिर्वाचनबारे निर्णय गर्न कात्तिक २४ गते सचिवालय बैठक बोलाएको प्रचार विभागले उल्लेख गरेको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय उपनिर्वाचन तयारीबारे छलफल हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । स्थानीय तह उपनिर्वाचन मङ्सिर १६ गते हुँदै छ । स्थानीय तहका रिक्त विभिन्न ४४ पदमा उपनिर्वाचन हुन लागेसँगै एमालेले निर्वाचन तयारी तथा उम्मेदवारको टुङ्गो लगाउन सचिवालय बैठक बोलाएको हो । एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको गौतमले उल्लेख गरे ।

प्रचार विभागका अनुसार नगरपालिका र गाउँपालिकाको वडाध्यक्षको उम्मेदवार सम्बन्धित पालिका तहको कमिटीको सिफारिसमा जिल्लाले नै टुङ्ग्याउने छ । महानगरपालिका र उपमहानगरपालिकाका वडा तथा नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सम्बन्धित कमिटी र जिल्लाको सिफारिसमा प्रदेश कमिटीले टुंग्याउने छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : ४१ बजे